Public Pana
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंले भोलि शनिबार पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा प्रदर्शन  हुने र त्यहाँ आफू पनि सहभागी हुने बताए । 

प्रसाईंले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे । 

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।
प्रसाईँले आफ्ना मान्छेलाई समेत सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र कैयनलाई पक्राउ गरेको दाबी गरे ।   

पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले प्रसाईंलाई घरबाट निस्कन दिएको थिएन ।

यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका केही समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update