Public Pana
ओखर बेचेरै दुई लाख रुपैयाँ आम्दानी

व्यवसायीहरूले दार्चुला र बैतडीबाट ओखर खरिद गरी डडेलधुरामा ल्याई बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । 


डडेलधुरामा किलोको ७ सयदेखि ८ सय पचास रुपैयाँमा बिक्री हुने ओखर पूजाआजादेखि कोसेलीसम्ममा प्रयोग हुने गर्छ । भीमदत्त राजमार्ग क्षेत्रमा सयौँले ओखर बेच्छन् ।


डडेलधुराको अमरगढी नगरपालिका–१ का राजबहादुर ऐर ओखरको व्यापार गर्छन् । छोराछोरीको शिक्षादीक्षादेखि दैनिक घरखर्च पनि उनी ओखरको आम्दानीले नै जुटाउँछन् ।

सुदूरपश्चिमका पहाड र तराईका जिल्ला जोड्ने प्रमुख नाकाको रूपमा रहेको डडेलधुराको स्याउले बजारका व्यवसायीले ओखर बेचेर मनग्य आम्दानी गर्ने गरेका छन् ।


पहाडी जिल्ला बैतडी, दार्चुला तथा डडेलधुराकै विभिन्न ठाउँमा उत्पादित ओखर जिल्ला सदरमुकामको बसपार्क र स्याउले बजारमा ल्याई प्रतिकिलो ७ सयदेखि ८ सय ५० रुपैयाँसम्ममा बिक्री गरिन्छ । यतिखेर यहाँका दर्जनौँ व्यापारीहरू ओखर बेच्न सक्रिय छन् ।


सिजनमा एउटै व्यापारीले ओखर बेचेर दुई लाखसम्म आम्दानी गर्छन् । पाँच क्विन्टल ओखर बिक्री गर्दा एक लाख रुपैयाँभन्दा बढी नाफा हुने डडेलधुराको स्याउले बजारका व्यापारी कमल बोहरा बताउँछन् ।


स्याउले बजारबाट यात्रुले तराईका कञ्चनपुर र कैलालीका साथै राजधानीसम्म कोसेलीको रूपमा ओखर लैजाने गर्छन् । बजार बढ्दै जाँदा ओखर उत्पादक किसान पनि उत्साहित हुन थालेका छन् ।


स्याउले बजार क्षेत्रमा ओखरसँगै दाल, गेडागुडी, मिस्री, टिमुर, फलफूल तथा अन्य मौसमी कृषि उपज बिक्री गरेर किसान र व्यापारीले राम्रो आम्दानी लिन थालेका हुन् ।

sudur paschim--ok1700816245.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update