Public Pana
रु.२४ करोड फूलको कारोबार यो तिहारमा

यस वर्षको तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ ।

अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो ।


यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । 


गत वर्षको तिहारमा एक सय रुपैयाँमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर ६५ मा उपभोक्ताले फूल खरिद गरेको र कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी रहेको एशोसियसनले जनाएको हो । 


यो वर्षको तिहारमा रु ३१ करोड २८ लाख मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै रु सात करोड कम कारोबार भएको छ ।


यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको एशोसिएसनको दाबी छ । 


भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकार दिए ।


पब्लिक पानासँग कूरा गर्दै उनले भने, ‘यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको छ ।’


पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।


नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।


यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update