Public Pana
तिहार सकियो, बन्द द्रुत  बस सेवा अझै खुलेन 

गत असोज ३ गते तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द भएको छ ।

संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सूर्य विनायक–रत्नपार्क द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।


द्रुत बस उद्घाटनको दिन सूर्य विनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा पुगेको थियो । त्यसपछि निर्धारित समयमा पुगेको रेकर्ड छैन । सुरुमा २५ वटा बस द्रुत सेवा अन्तर्गत सञ्चालन भएका थिए ।

अहिले सडकमा द्रुत बस देखिँदैनन् । तर, सरोकारवाला निकाय ८–१० वटा बस चलेको दाबी गर्छन् । चाडपर्वका कारण समस्या देखिएको उनीहरूको भनाई छ ।


डेडिकेटेड बस भनिएको छ, तर बनेपाबाट फुल यात्रु राखेर सूर्य विनायक आएको बस डेडिकेटेडको बोर्ड राख्छ र रत्नपार्कतर्फ कुद्छ । बिचमा चढ्ने यात्रुलाई समस्या छ । यही कारण द्रुत बस सेवा समस्यामा परेको हो ।


द्रुत बस सेवा बन्द हुनुमा अर्को कारण साँघुरो सडकमा सडक नै कब्जा गरेर नयाँ सुविधाहरू लागू गर्न खोज्नु पनि हो । सर्भिस लेन छाडेर माइतीघरबाट चार लेन सडक छ । यसमा एउटा लेन डेडिकेटेड रूपमा दिइसकेपछि अन्य सबै सवारी एउटै लेनमा कसरी अट्छन् ? ६ लेन सडक नबन्दासम्म द्रुत बस सेवा सञ्चालन गर्न सक्ने स्थिति छैन । समयमा गन्तव्यमा पुग्न सकैलाई हतार भएको हुन्छ । एउटा लेन खाली राखेर बाँकीमा जाम गर्नु कति जायज होला ? 


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर भन्छन्, ‘विदेश पढेर आउने विज्ञले आफ्नो विज्ञता लागू गर्छन् । यहाँको ग्राउन्ड रियालिटी के हो ? नबुझीकन लागू गर्दा समस्या आउने गर्दछ । राम्रो काम गर्न खोजिएको हो, तर हतार भने भएकै हो ।’


आवश्यक अध्ययन र तयारी बिनै द्रुत बस सेवा सञ्चालनको निर्णय लिइएको थियो । प्रधानमन्त्री कार्यालयको निर्णय अनुसार द्रुत बस सेवा सुरु भएको भनिँदै आइएको छ । प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग हुँदै निर्णय कार्यान्वयनका लागि सडक डिभिजन काठमाडौँमा लागि आएको थियो । द्रुत बस सेवा सञ्चालनका लागि अध्ययन गरेर तयार पारिएको रिपोर्टले काम नगरेकै हो भन्छ स्रोतले । जसका कारण समस्या सिर्जना भयो । तत्कालका लागि अन्य विकल्प छैन । माथिबाट आदेश भई हाल्यो कार्यान्वयनमा समस्या छ ।

माथिको आदेश कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेली रहेको यातायात व्यवस्था विभागलाई यो टाउको देखाई बनेको छ ।

यसमै अल्झिनु पर्दा दैनिक कार्यसम्पादनमा समेत असर परेको कर्मचारीको गुनासो छ । ललिता निवासले झस्किएका कर्मचारीहरू ऐन, नियम र कागजात नहुँदा आदेशकै भरम काम फत्ते गर्न डराइरहेका छन् । ‘नडराउन् पो कसरी, काम भई सकेको छ तर सम्झौतासम्म भएको छैन, अब भुक्तानी कसरी गरिन्छ ? त्यो भने हेर्न बाँकी नै छ’ प्रशासन उच्च स्रोतले भन्यो ।


तामझामका साथ सञ्चालनमा आएको रत्नपार्कदेखि सुर्यविनायकसम्मको द्रुत बस सेवाका लागि सडकमा रातारात रातो रङ्ग पोतिएको थियो । 


द्रुत बस सेवा सञ्चालनको लागि छुट्टै लेनको संकेत गर्न सडकमा रातो रङ्ग लगाइएको हो । स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौँ अन्तर्गत १ करोड २४ लाख ७७ हजार रुपैयाँ र सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना अन्तर्गत करिब १ करोड २० लाख रुपैयाँ खर्च भएको छ । 


रङ्ग लगाउन र संकेत लेख्न चार वटा कम्पनीलाई जिम्मा दिइएको थियो । बिल भुक्तानीका लागि उनीहरू सडक डिभिजन कार्यालयमा धाउन थालेका छन् ।

यद्यपि, भुक्तानी भइसकेको छैन । आकस्मिक कार्य कोषबाट काम भएको छ । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायण दत्त भण्डारीका अनुसार फाइल अर्थ मन्त्रालयमा पुगेको छ र प्रक्रियाकै क्रममा छ ।


हतपतको काम लतपत भने झैँ सडकमा पोतिएको रङ्ग १० दिनमै उप्किएपछि दोस्रो पटक रङ्ग लगाउनु परेको थियो । दोस्रो पटक लगाएको रङ्ग पनि केही ठाउँमा उप्किएको छ । रातो रङ्ग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडीबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडीबुटीदेखि सूर्य विनायकसम्म, सूर्य विनायक, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले गरेको हो । 


आठ दश दिन भित्र जसरी पनि सक्नु पर्छ भनेर माथिबाट आएको प्रेसर अनुसार समयमै काम सके पनि काम सकेको लामो समयसम्म पनि भुक्तानी नहुँदा भने समस्या भएको सूर्य विनायक, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका सिडिई नारायण लामिछानेको भनाई छ । ‘यो सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाको कार्यक्रम र पैशामा गर्ने भनिएको हो’ उनले भने, ‘मन्त्रालय र विभागको निर्देशानुसार काम गरेर रकमान्तरका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ, तर निकासा आएको छैन’

यसैबीच, द्रुत बस सेवा सञ्चालन सोचे जस्तो प्रभावकारी हुन सकेको छैन । समस्याको चाङ थुप्रिएको छ भने सरोकारवाला निकाय बिच आरोप प्रत्यारोप चलेको छ । 


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन राम्रो हुन नसक्दा समस्या भएको बताए । उनले भने, ‘ट्राफिक व्यवस्थापन नै हुन सकेन, सबै गाडी एकै ठाउँमा भए । के द्रुत, के निजी, के ट्याक्सी, के मोटरसाइकल सबै एउटै लेनमा कुद्दा समस्या भयो ।’


तर, ट्राफिक प्रहरी यो आरोप अस्वीकार गर्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ट्राफिक प्रहरीले डेडिकेटेड लेनलाई प्राथमिकता दिइराखेको भए पनि विद्ययमान सडक संरचनाका कारण समस्या भएको बताए । ‘रातो पोत्दैमा डेडिकेटेड लेन हुँदैन । सडकको संरचना सोही अनुसार हुनुपर्छ । चालक अनुशासितता हुनु पर्छ ।’ उनले भने, ‘सडकको एउटा भाग खाली गराउँदा अन्य भागमा असर परेको हुन्छ । चाप थपिन्छ । यसतर्फ ध्यान पनि दिनुपर्ने छ ।’


विद्ययमान सडक संरचनामा तर्फ ध्यान नदिई ट्राफिक प्रहरीलाई मात्र दोष लगाउनु जायज होइन । ट्राफिक लाइटमा अन्य सवारी साधन रोकिएका हुन्छन् । द्रुत बसलाई उचालेर पठाउन त ट्राफिक प्रहरीले पनि सक्दैन । अर्कोतर्फ बनेपाबाट फुल यात्रु राखेर आएका बसले सूर्य विनायकबाट डेडिकेटेडको बोर्ड राख्ने गरेको पाइएको छ । यसले डेडिकेटेड बोर्डको पनि दुरुपयोग भएको छ ।


समस्या समाधानका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरी बिच दैनिक जसो छलफल हुने गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले अहिले देखिएका व्यवहारिक समस्याहरूलाई सल्टाउँदै अगाडी बढ्ने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।


त्यसो त काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद् पनि छ । शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन–२०७९ ले उपत्यकाको सार्वजनिक यातायात सुधारमा काम गर्ने गरी परिषद् र प्राधिकरणको प्रावधान गरेको थियो ।  

२०७७ मा आएको प्राधिकरण ऐन अनुसार संघीय राजधानी शहरको सार्वजनिक यातायातको व्यवस्थापन गर्ने जिम्मेवारी उसैको हो । 

Druta-Bus_121700814183.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update