Public Pana
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र लागे झापा

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा भ्रमणमा निस्किँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनले झापा भ्रमण गर्न लागेका हुन । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो झापा प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिए । 

‘बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायणको सालिक अनावरण गर्न उहाँ त्यहाँ जान लाग्नुभएको हो’, उनले भने । 


उनका अनुसार पूर्वराजा आज दिउँसो काठमाडौँबाट हवाईजहाजमार्फत झापा प्रस्थान गर्नेछन्। 

उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन् । 


राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ ।

भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको ¥याली गरिने दाबी उनले गरे ।  

बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए । 

‘कार्यक्रममा ५० हजार जनाको सहभागिता रहने आकलन छ’, श्रेष्ठले भने । 

काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रसाईं समूहको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै पूर्वराजाको झापा भ्रमण पनि यसैगरी ‘सफल’ हुने अपेक्षा गरेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update