Public Pana
ब्याजदरमा बैंकहरुको मनोमानी रहेको आरोप

पछिल्ला महिनाहरुमा निक्षेपमा निरन्तर ब्याज घटाइरहेका बैंकहरुले कर्जाको ब्याजदर घटाउन भने अलमल गरिरहेका छन् ।

केही महिनाअघि कर्जाको ब्याजदरमा केही कम गरे पनि बैंकहरुले निक्षेपको घटेको तुलनामा ब्याजदर घटाएका छैनन् । 

निक्षेपको ब्याज घट्दा बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्छ। आधार दर घटेसँगै क्रमिक रूपमा कर्जाको ब्याज घटिरहेको तथ्यांकले देखाए तापनि आधार दरमा आएको परिवर्तन अनुसार कर्जाको ब्याजदर भने घटेको छैन। पछिल्ला महिनामा आधार दरमा आएको कमी अनुसार कर्जाको ब्याज घटेको छैन ।

पूर्व नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले केही कारणहरुले गर्दा बैंकले ब्याजदर नघटाएको बताउँछन् । ‘अहिले ब्याजदर घटाउने पर्याप्त ठाउँ छ। केन्द्रीय बैंकले दिएको ४ प्रतिशत स्प्रेडको सीमा पालना गरेमा ठाउँ छ। तर पनि बैंकहरुले घटाउन आनकानी गरेका छन् । त्यसको कारण पनि छ,’ उनी थप्छन्, ‘आफूले मात्र ब्याजदर घटाउँदा अरुले निक्षेप खोसिदिए के गर्ने भन्ने भय बैंकहरुमा छ। जसका कारण आधार दर र निक्षेप घटिरहे पनि कर्जाको ब्याज घटाएका छैनन् ।’

मंसिरमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दति बचततर्फ औसत ब्याजदर एकल बिन्दुमा झरेको छ। औसतमा ब्याजदर ९.७१ प्रतिशतमा छ। संस्थागत निक्षेपको ब्याजदर घटेर ७.५४ प्रतिशत छ। 

मंसिर महिनाका लागि १२ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति बचतको ब्याजदर घटाए पनि ६ बैंकको स्थिर छ भने २ बैंकले बढाएका छन्। यस्तै, कुल २० वाणिज्य बैंकमध्ये १३ बैंकले संस्थागत बचतको ब्याजदर घटाएका छन् । 

व्यक्तिगत मुद्दति बचततर्फ बैंकको सबैभन्दा बढी ब्याजदर १०.६ प्रतिशत र सबैभन्दा कम ८.९६ प्रतिशत छ। धेरै हुनेमा हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक र माछापुच्छ्रे बैंक छन्। यस बाहेक कुमारी बैंक, सनराइज बैंक र प्राइम कमर्सियल बैंकको ब्याजदर १० प्रतिशत माथि छ ।

उता कम ब्याज दिनेमा एनआईसी एसिया बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दति बचतमा ८.९६ प्रतिशत कायम गरेको छ। त्यस्तै, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, एभरेष्ट बैंकले ९ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यसका अतिरिक्त एकल बिन्दु ब्याजदर तोक्ने बैंकहरुमा एनएमबी बैंक ९.७६, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.५१, ग्लोबल आईएमई बैंक ९.६, कृषि विकास बैंक ९.५१, नेपाल बैंक ९.२२, सिटिजन्स बैंक ९.९५, सिद्धार्थ बैंकले ९.९९ प्रतिशत ब्याजदर घोषणा गरेका छन् । 

कर्जाको ब्याजदर पनि घट्ने क्रममा रहेको बताउँछन्। पछिल्ला महिनाहरुमा ब्याजदर क्रमिक रूपमा घटिरहेको र अबका दिनमा अझै धेरै दरले ब्याज घट्ने उनको दाबी छ । 

‘केही बैंकहरुको कर्जा निक्षेपबीचको अन्तर एक वर्षसम्मका लागि थप एक प्रतिशतभन्दा बढी राख्न पाउने अवस्था छ। यो मर्जर र एकिज्युसनका कारण हो। एउटा यही कारण बन्यो कि ती बैंकले त्यही सुविधा लिएर कर्जाको ब्याजदर घटाउन पन्छिएका हुन्,’ दाहाल भन्छन्, ‘अब त्यो सुविधाको समायावधि सकिन लागेको छ। त्यसपछि तिनले स्प्रेटदरको अन्तर ४ प्रतिशतमै सीमित राख्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update