Public Pana
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु  

सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा हिजो बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।


दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार, १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन् ।

उनलाई सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ ।

दुवै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुन सक्ने अनुमान प्रहरीले गरेको  छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update