Public Pana
टिकटककै कारण समाजमा नकारात्मक असर परेकाले रोक लगाएको सरकारको प्रष्टोक्ती

सरकारले टिकटक प्रतिबन्ध गर्ने कार्तिक २७ गते निर्णय गरेसँगै यसको समर्थन र विरोधमा बहस भइरहेको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित तत्काल रोक लगाउन निर्णय गरेको थियो ।

अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन संभव नभई प्रयोगमा नै रोक लगाउनुपरेको नेपाल सरकारले स्पष्ट गरेको छ ।

सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाई छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएको पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाई छ ।

सरकारकाअनुसार रोक लगाउनुको कारण

टिकटकको माध्यमबाट सामाजिक सद्भाव तथा राष्ट्रिय सुरक्षा प्रतिकूल भएकाले टिकटकमा रोक लगाउने निष्कर्शमा सरकार पुगेको हो।

केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोग गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु पर्ने स्थिति सिर्जना भएको थियो।

नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको थियो।

पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लि भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लिल गतिबिधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिबिधि बढिरहेको छ।

टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिबिधि बढ्दै गएको सरकारको ठम्याई छ।

विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको छ । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको छ।

भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा हलभित्रको भिडियोसमेत टिकटकबाट सार्वजनिक गरेका छन् ।

यी लगायतका घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट बृद्धि हुँदै गएकाले टिकटकमा रोक लगाउनु परेको सरकारले स्पस्ट पारेको छ।

कानुनी आधार

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासम्म मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषद्बाट निर्णय गरिएको सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ।

नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।

व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको छ। प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहकेो निजको कुनै पनि वैयक्तित सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार छ।

कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

अन्य देशमा पनि प्रतिबन्ध

विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छर अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिवन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिवन्धित गरिएको छ।

नेपाल सरकारकाअनुसार टिकटकको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ। अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु

कीर्गिस्तानले बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको छ। बेलायतले सुरक्षाका कारण देखाउदै प्रतिबन्ध लगाएको छ।

अमेरिकाले सुरक्षाका कारण देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध गरेको छ।

न्यूजिल्यान्डले साइबर सुरक्षाको जोखिम देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध गरेको छ।

भारतले गोपनियता, सुरक्षा जोखिम लगायतको कारणले टिकटकसहित अन्य चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ।

क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, सोमालिया, अर्मेनिया, अजरवैजान, बंगलादेश, इन्डोनेसिया, इरान, जोर्डन, अष्ट्रिया, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, लाटभिया, माल्टा, नेदरल्यान्ड, नर्वे र अष्ट्रेलिया लगायतका देशले आंशिक वा पूर्ण रुपमा टिकटक माथि प्रतिबन्ध लगाएको सरकारी भनाई छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update