Public Pana
विद्यार्थीको विदेश पलायनले समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलवार काठमाडौंमा एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्को उद्घाटन गर्दै यस्तो बताएका हुन्। उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए ।

उनले भने, ‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ? भन्ने सवाल आजको हाम्रो देशको महत्वपूर्ण सवाल रहेको छ, उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ। यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रश्तुत गरिसकेको छ।’


उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको बताए।

प्रधानमन्त्री दाहालले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए।

उनले भने, ‘शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने बुझेका छौँ। विद्यार्थी देश बाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बन्न गएको छ। यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ। विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ।’

प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update