Public Pana
सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर राख्न नपाइने (पूर्ण पाठसहित)
गुगल - तस्बिर

सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० अनुसार निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर सामाजिक सञ्जालमा सम्पादन, प्रकाशन र प्रसारण गर्न नपाइने भएको हो।

निर्देशिका अनुसार नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले कार्यालय स्थापना वा सम्पर्क व्यक्ति तोक्नु पर्नेछ। नेपालमा कार्यालय नभएका प्लेटफर्मले निर्देशिका प्रारम्भ भएको ३ महिना भित्रमा कार्यालय स्पाना गर्ने वा सम्पर्क व्यक्ति तोक्नु पर्नेछ।

यस्तै समाजिक सञ्जाल प्लेटफर्मको वर्गीकरण पनि गरिएको छ। एक लाखभन्दा कम प्रयोगकर्ता भएकालाई साना र एक लाखभन्दा धेरै प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लेटफर्म भनेर वर्गीकरण गरिएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रचलित कानून विपरीतका सूचना, विज्ञापन र सामग्रीको प्रकाशन वा प्रसारण रोक्ने गरी सामाजिक सञ्जालमा एलगोरिदम (कलन विधि) विकास तथा अन्य उपाय अवलम्बन गर्नु पर्ने जिम्मेवारी पनि निर्देशिकामा तोकिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न वा गराउन नहुने कार्यहरु विपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा सोको पहिचान गरी सो सामग्री चौबिस घटाभित्र हटाउनु पर्ने पनि निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्तले गर्न वा गराउन नहुने कार्य २० बूँदामा सूचीबद्ध गरिएको छ।

ती कार्य यस्ता छन् -

१. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी, पेज, ग्रुप) सिर्जना गर्ने,

२. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी, पेज, ग्रुप) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्ने,

३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाई प्रकाशन र प्रसारण गर्ने,

४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्ने,

५. अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्ने, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि ‘हेट स्पीच’ भन्नाले पोस्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने लगायतका दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनु पर्छ।

६. डिजिटल माध्यमको प्रयोगबाट एनिमेसन, मोन्टाज लगायतका प्रविधिको प्रयोग मार्फत कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्ने,

७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्ने,

८. अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन, प्रकाशन, प्रसारण वा सोको समर्थनमा कमेन्ट गर्ने,

९. बालबालिकालाई हानी पु¥याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेध गरिएका क्रियाकलापलाई प्रोत्साहन गर्ने

१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्ने

११. साइबर बुलिङ मानिने कार्य गर्ने, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि ‘साइबर बुलिङ’ भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनु पर्छ।

१२. लागुऔषध सेवन तथा कारोबार गर्न प्रोत्साहन गर्ने,

१३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्ने,

१४. आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्ने

१५. वैयक्तिक गोपनीयता भंङ गर्ने,

१६. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्ने,

१७. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोष्टर लगायतका कार्य गर्ने,

१८. विभत्स तस्बिर, भिडियो पोस्ट वा सेयर गर्ने,

१९. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्ने,

२०. प्रचलित कानुनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्ने।

(सामाजिक सञ्जाल निर्देशिकाको पूर्ण पाठ) -

samajik1700473982.png

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update