Public Pana
माओवादी–नेसपा एकता हुने पक्का

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत भई पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । 


आज आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत  पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ । 

‘दुवै पार्टीको वार्ता  टोलीबीच भएको छलफलमा माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्नेगरी सहमति नजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ’, उनले भने ।

यस्तै माओवादी केन्द्रको वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको बताए । यसैगरी उनले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भएपनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताए । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिए । 

‘दुवै पार्टीको वार्ता टोली बैठकले पार्टीको नाम, झण्डा, वैचारिक तथा नीतिगत दस्तावेज लेखनका लागि अन्तिम रुप दिन एकता संयोजन समिति बनाउन सुझाव दिने सहमति भएको छ । नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ’, पोखरेलले भने । 

यद्यपि नेकपा शब्द कायमै  राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । यसै विषया पार्टीभित्र विवाद भएपछि उनले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । 
अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत  नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update