Public Pana
पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्नेबारे बहस 

पछिल्लो समय इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी (इभी) को आयात बढेपछि पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न मिल्ने-नमिल्नेबारे बहस सुरु भएको छ।

हाल सञ्चालनमा रहेका चार्जिङ स्टेसन अपर्याप्‍त भइ इभी चार्जका लागि राजमार्गहरुमा घण्टौंसम्म लाइन लाग्नुपर्ने स्थितिका कारण पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍ने विषयमा बहस सुरु भएको हो। दसैंको समयमा राजमार्गमा इभी चार्जका लागि चार घण्टासम्म लाइन लाग्नुपरेको भिडियो भाइरल भएको थियो।

व्यापारीले १० हजारभन्दा बढी इभी भित्र्याएकोमा चार्जिङ स्टेसन भने डेढ सय पनि छैनन्। नेपाल विद्युत प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाएकोमा ८१ वटा निजी कम्पनीले सञ्चालनमा ल्याएका हुन्। तर निजी कम्पनीका चार्जिङ स्टेसनमा आफ्नो बाहेकका ब्राण्डको इभीलाई चार्ज गर्न नदिने समस्या छ।

चार्जिङ स्टेसन अपर्याप्‍त भएकै निष्कर्षमा प्राधिकरणले थप ५०० वटा स्टेसन बनाउने योजना अगाडि सारेको छ। इन्धनबाट चल्ने सवारीसाधनको साटो इभीमा आकर्षण बढेपछि अहिले पेट्रोल पम्पमै चार्जिङ स्टेसन राख्न दिनुपर्ने आवाज उठ्न थालेको छ।

पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न मिल्छ त? जानकारहरुका अनुसार पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न सकिन्छ। तर चार्जिङ स्टेसन राख्‍ने विषयमा कानुनमा कहिं कतै केही उल्लेख नभएकाले निजी क्षेत्र हतारिएको छैन।

पेट्रोल पम्प खोल्नका लागि नेपाल आयल निगमको अनुमति चाहिन्छ। सडक विभागले स्वीकृति दिएपछि निगमले सर्वे लगायत काम गर्छ। निगमले यस सम्बन्धमा विनियमावली बनाएको छ। तर चार्जिङ स्टेसन सरकारको कुन निकाय मातहत हुने अर्थात कसले नियमन गर्ने भन्ने विषयमा कानुनमा स्पष्ट पारिएको छैन।

‘पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न सकिन्छ। प्राविधिकरुपमा कुनै समस्या छैन। गाडीका लागि स्पेस भने चाहिन्छ। काठमाडौं उपत्‍यकाका केही र बाहिरका सबैजसो पम्‍प चार्जिङ स्टेसन राख्‍न मिल्ने खालकै छन्,’ निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले भने, ‘त्यो भन्दा पनि नियमन कसले गर्ने भन्ने कुरा कानुनमा स्पष्ट खुलाइनुपर्छ।’

चार्जिङ स्टेसन निर्माणबारे अहिलेसम्म मापदण्ड बनाइएको छैन। मापदण्ड र नियामक निकाय नतोक्दा समस्या निम्तिन्छ। कुनै दुर्घटना भए दोषीलाई कसले कारबाहीको दायरामा ल्याउने भन्ने अन्योल हुन्छ।

‘पेट्रोलियम पदार्थ कारोबार हुने ठाउँमा एयररिच भेपर जतिखेर पनि हुन्छ। यसले गर्दा सर्ट सर्किट हुने अवस्था सिर्जना हुन सक्छ। त्यसैले सुरक्षा मापदण्ड आवश्यक पर्छ,’ ठाकुरले भने, ‘एसी चार्जर राख्‍न कुनै समस्या छैन। तर फाष्ट चार्जिङ स्टेसन राख्‍न यस्ता कुराले धेरै म्याटर गर्छ। त्यसैले सर्टिफाइड गर्ने निकाय आवश्यक छ।’

त्यसो त काठमाडौंमा सशस्त्र प्रहरी बल र पोखरामा कालिका पेट्रोल पम्पमा चार्जिङ स्टेसन सञ्चालनमै छन्। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दास पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न आफूहरु तयार रहेको बताउँछन्।

‘हामी पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न तयार छौं। राजमार्गका सबैजसो पम्पमा पर्याप्‍त स्पेस पनि छ,’ उनले भने, ‘हामी मात्र तयार भएर भएन‚ सरकारले पहिला मापदण्ड बनाउनुप¥यो। नियमन कसले गर्ने हो त्यो स्पष्ट हुनुप¥यो।’

प्राधिकरणका विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागरमणि ज्ञवाली पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न कुनै समस्या देख्दैनन्।

‘अहिलेको अवस्थामा पेट्रोल पम्पमा मज्जाले चार्जिङ स्टेसन राख्‍न मिल्छ। तर नोजलबाट २० मिटरको दूरी चाहिन्छ,’ उनले भने, ‘चार्जिङ स्टेसन बनाउने काम निजी क्षेत्रकै हो, प्राधिकरणको होइन। हामीले त अरुले चासो नदिएका कारण बाध्य भएर मात्र बनाएका हौं। हामीले सिफारिस गरेपछि पेट्रोल पम्पमा पनि चार्जिङ स्टेसन राख्‍न मिल्छ। त्यसमा निगमको पनि स्वीकृति चाहिन्छ।’

चार्जिङ स्टेसन राख्‍न प्राधिकरणले ट्रान्सफर्मर र मिटर उपलब्ध गराउँदै आएको छ। प्राधिकरणले ट्रान्सफर्मर र मिटर निःशुल्क उपलब्ध गराउँदा चार्जिङ स्टेसन बनाउन १३ देखि १५ लाख रुपैयाँ खर्च हुन्छ। ३० किलोवाटभन्दा माथिका चार्जिङ स्टेसन निर्माण गर्न भने ३० देखि ४० लाख खर्च हुन्छ‚ जसमा डबल गन हुन्छ।


टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बनेपा र विराटनगरमा पेट्रोल पम्पमै चार्जिङ स्टेसन राख्‍ने योजना बनाएको छ।

‘धेरै पेट्रोल पम्पले चार्जिङ स्टेसन निर्माणको माग गरिरहेका छन्,’ कम्पनीका इन्जिनियर इन्जिनियर दिग्विजय आचार्यले भने, ‘हामी बनेपा र विराटनगरमा पेट्रोल पम्पमा नै चार्जिङ स्टेसन राख्‍ने तयारीमा छौं।’

चार्जिङ स्टेसनमा ४५० भोल्टको विद्युत हुन्छ। यस्तै पम्पमा हुने डिजेल र पेट्रोल ज्वलनशील पदार्थ हुन्। आगलागीको जोखिम हुने भएकाले सुरक्षा सतर्कता पर्याप्त चाहिन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update