Public Pana
महेश बस्नेतले मागे सरकारी सुरक्षा, दुर्गा प्रसाईंले खबर नै गरेनन्

व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा गर्ने भनिएको बृहत् प्रदर्शनबारे सरकारका कुनै पनि निकायलाई औपचारिक जानकारी नदिएको पाइएको छ । 

तर, सोही दिन काठमाडौंमा कार्यक्रम तय गरेका नेकपा एमालेका नेता महेश बस्नेतले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सरकारी निकाय र सुरक्षा अंगका सबैलाई कार्यक्रमबारे जानकारी गराएका छन् । उनले सरकारसमक्ष सुरक्षाको माग समेत गरिसकेका छन् । 

प्रसाईंले अहिलेसम्म कार्यक्रमबारे कुनैपनि जानकारी नगराएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 


‘दुर्गा प्रसाईंजीले गर्ने भनिएको कार्यक्रमबारे सरकारका कुनै पनि अंगलाई जानकारी दिइएको छैन,’ आचार्यले नेपालखबरसँग भने, ‘तर, एमाले नेता महेश बस्नेतजीले आफैं प्रधानमन्त्रीज्यूलाई भेटेर कार्यक्रमबारे जानकारी गराउँदै सुरक्षा माग गर्नु भएको छ।’

शान्तिपूर्ण रुपमा कार्यक्रम गर्नेबारे सुरूमै जानकारी दिएपछि सरकारले सोही अनुसार सुरक्षा व्यवस्था मिलाउने गरेको छ। तर, कानुन र संविधान अनुसार कुनै कार्यक्रम गर्न पाउने व्यवस्था भएपनि त्यसविपरीत जानकारीबिनै कार्यक्रम गर्न खोजे सरकारले नियन्त्रण गर्न सक्नेछ।

प्रसाईको कार्यक्रमबारे अहिलेसम्म कुनै जानकारी नभएकोले यसलाई सरकारले कसरी लिन्छ भन्नेबारे प्रस्ट भइसकेको छैन।

प्रसाईंले सरकारी अधिकारीलाई कुनै जानकारी नदिनुको कारण खुलेको छैन। 

‘शान्तिपुर्ण कार्यक्रम, धर्ना, प्रदर्शनको सरकारले संरक्षण गर्छ र सुरक्षा प्रदान गर्छ,’ आचार्यले थपे, ‘तर, संविधान र कानुनविपरीत गरेको छ भने नियन्त्रण गर्छ।’

प्रसाईं सहितका केही अभियान्ताहरूले आगामी मंसिर ७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने बताएका छन्। 

उता, एमालेको जनवर्गीय संगठन युवा संघको आयोजनामा हुन लागेको प्रदर्शनको स्वामित्व एमालेले लिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार मात्रै पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत् सो प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update