Public Pana
कैलालीमा अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा थिए । उनी तिहारको बिदामा आएका बेला धनगढी पुगेका थिए ।


स्वस्तिक अस्पतालको सीसीटीभी फुटेजमा ल्यापटप चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका असई भण्डारी रहेको खुलेपछि प्रहरीले सशस्त्र प्रहरीलाई पत्राचार गर्दै सहयोग मागेको थियो । प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।

सीसीटीभी फुटेजमा भण्डारीले अस्पतालबाट कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटतिर ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update