Public Pana
भारतमा आजदेखि सुरु साउथ समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ ।

भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ ।

जी–२० को अध्यक्षता अवधिभर भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको बताइएको छ ।


भारतको अध्यक्षतामा सम्पन्न जी–२० बैठकले हासिल गरेका मुख्य उपलब्धिहरू भारतले समिटमा साझा गर्नेछ । विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ ।

अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने सबैको साझा आकाङ्क्षालाई पुरा गर्न आवश्यक तरिकामाथि यो समिटमा छलफल हुने बताइएको छ ।

साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख÷सरकार तहमा हुनेछन् र प्रधानमन्त्री मोदीले यसको सञ्चालन गरेका छन् । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update