Public Pana
रास्वपाको भोलीदेखि  घरदैलो अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानको तयारीलाई तीव्र पारेको छ ।

मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो । 

कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रम गर्दैछ ।

२०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा  ११ लाख ३० हजार ३४४ मत पाएको थियो । 

रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।

‘घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ । साथै हामीले आफ्नो प्रतिबद्धता भुलेका छैनौँ । प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भनेर भन्छौँ,’ उनले भने ।

बुर्लाकोटीका अनुसार पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरु घरदैलो अभियान जाने छन् ।  रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । 

गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र १०७ समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो । उनीहरु सबैलाई घरदैलो अभियानमा पठाउने तयारीका लागि आज जुम मिटिङ हुने बुर्लाकोटीको भनाइ छ ।

गत निर्वाचनमा मत माग्ने हिँडेकै शैलीमा घरदैलो कार्यक्रम हुने बुर्लाकोटीको भनाइ छ । ‘निर्वाचनमा मत माग्न गए जस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिने हो,’ उनले भने ।

घरदैलो अभियानले आम नागरिकमा आशा जगाउने पनि बुर्लाकोटीले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update