Public Pana
 यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर

सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । 

नेपाली टोली खेलको पहिलो हाफमै ४–० गोलले पछाडि परेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो । 

यूएईका लागि दोस्रो गोल निर्धारित समयको ३७औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल पनि निर्धारित समयको ४४औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।

खेलको दोस्रो हाफमा भने नेपालले तुलनात्मक रूपमा केही सुधारिएको प्रदर्शन गरेको थियो । त्यसैले पहिलो हाफमा निरीह देखिएको नेपाली टोलीले दोस्रो हाफमा थप गोल खाएन । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट प्रतियोगिता हो । 

यो खेलपछि नेपालले अब यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यूएईका अतिरिक्त यमन र बहराइन पनि रहेका छन् । नेपाली टोलीले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । 

यमनविरुद्धको पहिलो लेग खेल मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।

अस्ट्रेलिया, जापान र दक्षिण कोरियाको गोल 

यसैगरी समूह ‘बी’ अन्तर्गतको खेलमा जापानले म्यानमारलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । उक्त खेलमा जापानको सजिलो जितमा अयासी युएडा नायक बने । उनले ह्याट्रिक गरेका थिए । खेल सुरु भएको ११औँ मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी समयमा दोस्रो र निर्धारित समयको ५०औँ मिनेटमा तेस्रो गोल थपेका थिए । 

जापानका लागि दाइची कामादा र रित्सु दोनले पनि एक–एक गोल थपे । दाइचीले २८औँ र रित्सुले ८६औँ मिनेटमा गोल गरेका थिए । जापान र म्यानमारले आफ्नो समूहमा पहिलो खेल खेलेका हुन् । उक्त समूहमा उत्तर कोरिया र सिरिया पनि रहेका छन् । 

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले सिंगापुरलाई ५–० गालले पराजित ग¥यो । सोही समूहको अर्को खेलमा चीनले थाइल्यान्डमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । पहिलो खेलबाटै तीन अंक हासिल गरेको दक्षिण कोरिया पहिलो र चीन दोस्रो स्थानमा छन् । 

यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा मलेसियाले किर्गिस्तानमाथि ४–३ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । सोही समूहको अर्को खेलमा ओमानले चाइनिज ताइपेइलाई ३–० गोलले पराजित ग¥यो । उक्त समूहमा तीन अंकसहित ओमान पहिलो र समान अंक जोडेको मलेसिया दोस्रो स्थानमा छन् । पहिलो खेलमै पराजित भएका किर्गिस्तान र चाइनिज ताइपइले भने अंक जोड्न सकेका छैनन् । 

यसैगरी समूह ‘ई’ अन्तर्गतको खेलमा उज्बेकिस्तानले तुर्कमेनिस्तानलाई ३–१ गोलले हरायो । सोही समूहको अर्को खेलमा इरानले हङ्ङमाथि ४–० गोलको सजिलो जित हासिल ग¥यो । उक्त समूहमा तीन अंकसहित इरान पहिलो र समान अंक बटुलेको उज्बेकिस्तान दोस्रो स्थानमा आसिन छन् । 

यसैगरी समूह ‘एफ’ अन्तर्गतको खेलमा भियतनामले फिलिपिन्सलाई २–० गोलले पराजित ग¥यो । सोही समूहको अर्को खेलमा भने इराकले इन्डोनेसियामाथि ५–१ गोलको जित हासिल ग¥यो । उक्त समूहमा तीन अंकसहित इराक पहिलो र समान अंक जोडेको भियतनाम दोस्रो स्थानमा छन् । 

यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा ताजिकिस्तान र जोर्डनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो समूहमा साउदी अरेयिबा र पाकिस्तान पनि छन् । समूह ‘आई’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशमाथि गोल वर्षा गरेको छ । 

उक्त खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ७–० गोलको विशालअन्तरले हरायो । सोही समूहको लेबनान र प्यालेस्टाइनबिचको खेल गोलरहित बराबरीमा सकियो । उक्त समूहमा तीन अंकसहित अस्ट्रेलिया पहिलो, एक अंकसहित लेबनान दोस्रो र एक अंकसहित प्यालेस्टाइन तेस्रो स्थानमा छन् । 

विश्वकप छनोटको दोस्रो चरणको खेलमा प्रत्येक समूहका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक–एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update