Public Pana
आज विश्व मधुमेह दिवस

आज १४ नोभेम्बर, विश्व मधुमेह दिवस, सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचार
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो ।

सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

यो वर्ष अर्थात् सन् २०२३ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ “Access to Diabetes Care“ रहेको छ । अर्थात्, मधुमेह उपचारमा पहुँच ।

स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।

मधुमेह बारे केही तथ्यहरू
मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
 विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।


डायबिटिज दुई प्रकार 

टाइप वान डायबिटिज र टाइप टु डायबिटिज ।
हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।


अब कुराकानी गरौँ, दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ ।

हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ ।

हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।


आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।


मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ ।


 त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।


· प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।

यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ ।

डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।

मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन ।

सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।

डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।

मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।

मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ ।

मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।

समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।

विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update