Public Pana
तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले थाल्यो ड्रोनबाट सुरक्षा निगरानी 

काठमाडौँ उपत्यकामा तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी गर्न थालेको छ । 

अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार न्यूरोड र ठमेल जस्ता अत्यधिक आवतजावत हुने ठाउँमा ड्रोनबाट सुरक्षा निगरानी शुरु भएको छ । योसँगै काठमाडौं उपत्यकामा निगरानी आजदेखि थाल्ने प्रहरीले उल्लेख गेको छ । 

प्रहरीले सुरक्षा योजना बनाएर तिहारको सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ । लुटपाट र चोरी हुनसक्ने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले काठमाडौँ उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरीको दाबी छ । 

तिहारको सुरक्षाका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा ७ हजार ६ सय ३३ जना प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रहरी कार्यालयले लागु गरेको सुरक्षा योजना अनुसार तिहारमा ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी खटिएका छन् । आपराधिक गतिविधि नियन्त्रण गर्न ५ हजार ८३३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । 

चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा प्रहरीको पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकलमार्फत क्यूआरटी (क्विक रेस्पोन्स टिम), कन्ट्रोल रुम भेहिकल (सिआरभी) र पिकेटिङ परिचालन गरिएको हो ।

उपत्यकामा आकस्मिक चेकजाँच, ड्रोनमार्फत निगरानी र  बडी वर्न क्यामेराबाट निगरानी गर्नेगरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना लागु गरेको छ । बित्तय संस्था तथा नगद र बहुमूल्य गहनाको कारोबार हुने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । ती स्थानहरुमा साना हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ । 

यात्रुलाई आवत जावतमा सहजका लागि काठमाडौँको १२ ठाउँमा, ललितपुरमा ३ र भक्तपुरमा २ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

मल, मार्टहरु र उपत्यका भित्रिने मुख्य नाकाहरुमा केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरहरुबाट चेकजाँच गर्नेगरी सुरक्षा व्यवस्था लागु गरिएको छ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update