Public Pana
भूकम्प पिडितका लागि १० अर्ब रुपैयाँ राहत कोषमा राख्ने सरकारको निर्णय

सरकारले सांसद विकास कोष  (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) को ८ अर्ब र त्यसमा रकम थपेर १० अर्ब बनाई भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

आज सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पब्लिक पानालाई जानकारी दिइन् ।

सांसद विकास कोषअन्तर्गत प्रतिसांसद (प्रतिनिधि सभा सदस्य) ५ करोडका दरले ८ अर्ब २५ करोड रकम छुट्याइएको भए पनि कार्यान्वयन भएको छैन। हालै सर्वाेच्च अदालतले बोलीचालीमा सांसद विकास कोष भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ रोक्न अन्तरिम आदेश दिएको थियो। 


आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण थाल्ने निर्णय गरेको हो ।

उनका अनुसार भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएका, क्षतिग्रस्त नभए पनि बस्न योग्य नभएका घर पुनः निर्माणका लागि तत्काल ५० हजार निकासा गर्ने निर्णय बैठकले गरेको छ। यसअघि सरकारले भूकम्पबाट घर भत्किएका परिवारलाई पुनःनिर्माणका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। 


‘अस्थायी आवास र भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माण थाल्न बनाइएको कोषमा संसद विकास कोष (प्रतिसांसद ५÷६ करोड) रकममा नेपाल सरकारका तर्फबाट एक अर्ब बढी थपेर १० अर्ब रकम बनाइ भूकम्प राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले बताइन् । 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजारौँ परिवार घरबासविहीन भएका छन्। 

भूकम्पमा जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा गरी ३५ हजारभन्दा बढि घरमा क्षति पुगेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update