Public Pana
आज  सोमबारे औंसी

आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।

यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।

पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?

जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।
सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ ।

विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो ।

त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ।

सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update