Public Pana
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । 

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update