Public Pana
नियमानुसार २४ सैं घण्टा देउसी भैलो खेल्न पाइने यसपालीको तिहारमा

यसपालीको तिहारमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने भएका छन्।

आइतबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले यस्तो जानकारी दिएका हुन्।


सुरक्षा प्रबन्ध मजबुत पारी चौबीसै घण्टा देउसीभैलो खेल्ने प्रबन्ध मिलाइएको एसएसपी खत्री बताउँछन्।


यद्यपि कुनै उच्छृङ्खल क्रियाकलाप नगरी सौहार्दपूर्ण रूपमा देउसीभैलो खेल्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको उनी बताउँछन्।

तथापि, प्रहरी २४सै घण्टा नागरिकको सुरक्षाको लागि खटिइरहेको एसएसपी खत्रीले बताए।

कुराकानीका क्रममा एसएसपी खत्रीले काठमाडौँमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नको लागि समयको कुनै सीमिततता नतोकिएको बताएका छन्।


प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरे।

‘काठमाडौँमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नको लागि कुनै समय तोकेका छैनौँ,’ एसएसपी खत्री भन्छन्, ‘प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको छ। रातभरि नै देउसीभैलो खेल्नको लागि सुरक्षा प्रबन्ध मिलाइएको छ। तर हाम्रो अनुरोध के छ भने यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाएर  आफ्नो परम्परा, संस्कृतलाई निरन्तरता दिन सबैमा अनुरोध गर्दछौँ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरेको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौँ प्रहरी प्रमुख खत्री नेपाल प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको भन्दै ढुक्कले रातैभरि देउसीभैलो खेल्न सकिने बताए।

एसएसपी खत्री भन्छन्, ‘राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो।’

कसैले कुनै समय तोकेर अवरोध गर्न खोजेमा प्रहरीको १०० र काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सकिने एसएसपी खत्रीले बताएका छन्।

विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भीडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा धेरै प्रहरी परिचालन गरिने पनि एसएसपी खत्रीले बताए।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update