Public Pana
यसअघिका उपरथी शाहीलाई बर्खास्त गर्ने जस्तै मुद्दामा राजीनामा दिएका रथी पाण्डे 

प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बढुवा सिफारिस समितिले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न असोज अन्तिम साता सूचना जारी थियो ।

सूचनामा उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न सिफारिस गरिएको उल्लेख गर्दै त्यसप्रति कुनै उजुरी भए सात दिनभित्र दिन भनिएको थियो ।


२०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा जान लागेका प्रधानसेनापति शर्माले आफ्नो उत्तराधिकारीका रूपमा पाण्डेलाई अगाडि बढाएका थिए । यदि शुक्रबार राजीनामा दिन बाध्य नभएको भए शर्मापछि नेपाली सेनाको कमाण्ड उनै पाण्डेले गर्ने करिब निश्चित थियो ।

तर, बढुवा समितिले सूचना जारी गरेपछि नै पाण्डेको उमेर विवाद सार्वजनिक भयो। शैक्षिक प्रमाण पत्र र नागरिकतामा छुट्टाछुट्टै जन्ममिति रहेको र पछि मिलाएको आरोप उनीमाथि लागेको भए पनि सेनाले यसलाई ढाकछोपको प्रयास ग¥यो ।

कात्तिक ५ गते विज्ञप्ति नै जारी गरेर जंगी अड्डाले स्वीकृत दरबन्दी रिक्त भएको पदमा प्रचलित ऐन, नियमावलीलगायत कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यासअनुरुप नै पदोन्नतिको प्रक्रिया अगाडि बढेको दाबी गरेको थियो । 

विज्ञप्तिमा अगाडि भनिएको थियो, ‘पदोन्नतिको प्रक्रिया अगाडि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत् प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टिकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ।’

यसको १९ दिनपछि उमेरमा उठेको प्रश्न होइन, सेनाजस्तो संगठनको मुख्यालयले जारी गरेको विज्ञप्तिचाहिँ झुट् भएको पुष्टि भयो । किनभने, उमेर विवादमा छानबिन गर्न चौतर्फी दबाब बढेपछि सेनाले वरिष्ठतम् रथी सीताराम खड्काको नेतृत्वमा समिति बनायो ।

उमेर सच्याएको खुले कारबाहीमा पर्ने देखेपछि उपरथी पाण्डेले यसबाट बच्न पहिल्यै राजीनामा दिएर सेवाबाटै बाहिरिने बाटो रोजे। भावी सेनाप्रमुखको दौड पनि यहीँ समाप्त भयो ।

अघिल्ला छानबिनहरूमा जोगिँदै आएका पाण्डेलाई संरक्षण गर्न यसपटक भने सरकार, विशेष गरी तालुकवाला रक्षा मन्त्रालय नै तयार भएन। मन्त्रालयले समेत छानबिन गर्न भनेपछि जंगी अड्डा समिति बनाउन बाध्य भएको रक्षा मन्त्रालयले जनायो ।

प्रारम्भिक अनुसन्धानमा पाण्डेका कागजात शंकास्पद देखिएपछि छानबिन समितिले कोर्टमार्सल (सैनिक अदालत) गठन गर्न सुझाव दिएको थियो। त्यसपछि पाण्डे राजीनामा दिन बाध्य भए ।

पछिल्लो समय नेपाली सेनामा नक्कली प्रमाण पत्र र किर्तेका एकपछि अर्का विवाद र प्रमाण बाहिरिन थालेका छन्। यसअघि उमेर विवादकै कारण ८ महिनाअघि उपरथी प्रेम शाहीलाई बर्खास्त गरिएको थियो ।  शाहीलाई बर्खास्त गर्ने कोर्टमार्सलको नेतृत्व ताराध्वज पाण्डेले नै गरेका थिए । अहिले आएर तिनै पाण्डे आफू पनि सोही विवादमा परे र कारबाही हुनुअघि राजीनामा दिएर बाहिरिए ।

दुई थरी उमेर खुल्ने प्रमाण भएपछि सेनाले सुरुमा अघिल्लो उमेरका आधारमा शाहीलाई अवकासको पत्र थमाएको थियो । तर, अवकासपत्र बुझिसकेका शाही त्यसविरुद्ध सर्वोच्च अदालत गए र आफ्नो पछिल्लो उमेर दाबी गरे। सर्वोच्चले उनकै पक्षमा आदेश ग¥यो ।

तर सर्वोच्चको अदालतको आदेश बोकेर भद्रकाली फर्किएका शाही सेनाको आन्तरिक हिरासत मात्रै पुगेनन्, संगठनविरोधी गतिविधि गरेको आरोपमा बर्खास्तगीमै परे।

उनलाई बर्खास्तको फैसला सुनाउने पाण्डेको नियति भने त्यहाँसम्म पुग्न पाएन । सम्भावित परिणति बुझेर नै हुन सक्छ, उनी आफैले सेनाको उच्चतम पदको मुखैमा पुगेर जागिरबाट हात धोए र घरतिर लागे ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update