Public Pana
अपडेट :  कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्रीले भने, 'सरकारबाट नयाँ आन्दोलन सुरु '

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको कीर्तिपुरमा साक्षात्कार गर्दै  उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए । 

उनले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवता गर्ने उल्लेख गरे । 

‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ। अब आउने भनेको ६४ होइन, २०८४ हो। २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनाँै। हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौं।

अझै गर्छौं,'प्रधानमन्त्री प्रचण्डले भने, ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन। मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो। हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो।’

उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए। 

उनले राजस्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको पनि बताए। उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए।

‘अर्थतन्त्रमा केही सुधार भएको छ। राजस्व पनि वृद्धि हुन थालेको छ। पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन्। रेमिट्यान्स धेरै नै बढेको छ।

विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ। अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु,’ उनले भने।

प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताए। उनले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताए। 

अर्को एक प्रशंगमा प्रचण्डले युएईमा हुन लागेको जलवायु सम्बन्धी सम्मेलन (कोप-२८) मा नेपाल मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update