Public Pana
चालु आबको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घट्यो  

सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आम्दानी र नाफा दुबै घटेको छ ।
चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिकको वित्तीय तथ्यांकअनुसार कम्पनीको आम्दानी र नाफा दुबै घटेको हो।

असोजमसान्तमा सकिएको आर्थिक वर्ष - आब २०८०/८१ को पहिलो त्रैमासिकको तथ्यांकअनुसार कम्पनीले सो अवधिमा ग्राहकहरुबाट ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४९ करोड २५ लाख २२ हजार रुपैयाँले कम भएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँ रहेको थियो।

कम्पनीकाअनुसार वित्तीय आम्दानी समेत घटेको देखिएको छ, जसअनुसार पहिलो त्रैमासमा वित्तीय आम्दानी १ अर्ब ७५ करोड ७० लाख ४७ हजार रहेको जुन अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ९० करोड ५२ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

अन्य आम्दानी भने कम्पनीले बढाउन सफल भएको छ जसअनुसार यस्तो आम्दानी सो अवधिमा ३० करोड ६६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोहि अवधिमा यस्तो अन्य आम्दानी रकम ५ करोड ७२ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

टेलिकमको आम्दानी घटेसँगै कम्पनीले संचालन खर्च तथा बजारीकरण खर्चमा समेत कटौती गरेको देखिन्छ। वित्तीय बिबरणअनुसार पहिलो त्रैमासमा कम्पनीले संचालन खर्च १ अर्ब ५१ करोड ६९ लाख २२ हजारमा झारेको छ। जुन अघिल्लो त्रैमासको सोहि अवधिको तुलनामा करिब २५ करोड रुपैयाँ कम हो।

त्यस्तै बजारीकरण तथा प्रबद्र्धन खर्चमा समेत अघिल्लो आवको तुलनामा करिब १ करोड रुपैयाँले घटाएर ५ करोड २८ लाख १५ हजार रुपैयाँ बनाएको छ।

यस्तैगरी प्रशासनिक खर्चमा समेत कटौती गर्दै सो अवधिमा २७ करोड २७ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।

टेलिकमका अनुसार सो अवधिमा नियामक र सरकारलाई तिर्नुपर्ने दस्तुर शुल्क तथा नविकरण रकममा कमी आएको देखिन्छ।

सार्वजनिक बिबरणअनुसार नेपाल टेलिकमको सो अवधिको नाफा घटेर २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ भएको छ। अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो नाफा २ अर्ब ११ करोड ५५ लाख ७ हजार रुपैयाँ रहेको थियो। तथ्यांकअनुसार नाफामा करिब १९ करोड ८० लाख ७५ हजार रुपैयाँले गिरावट देखिएको छ।

आम्दानी र नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा ४ रुपैयाँ ४१ पैसाले घटेर इपीएस ४५ रुपैयाँ ५ पैसामा पुगेको छ।

टेलिकमले आम्दानी र नाफामा कमी आउनुको कारण वित्तीय संकटलाई दोष दिएको छ भने भ्वाइसबाट डाटातर्फ विश्व बजार रुपान्तरण हुँदै जानुलाई आधार मानेको छ। यसैगरी मोबाइल डाटाको साटो तारयुक्त फिक्स्ड ब्रोडब्याण्डले असर पारेको उल्लेख गरेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update