Public Pana
महागुरु फाल्गुनन्द जयन्ती आज, नेपाल सहित बेलायत, भारत र भुटानमा पनि मनाइदै

भनिन्छ, युग पुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँ युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ ।

यस्ता युग पुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, त्यसलाई समाजमा उपयोगी होस् भनेर ज्ञानको भण्डारलाई बाँड्ने पनि गर्छन् ।


१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुननन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न फाल्गुनन्दको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।

पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ ।

त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायमा गुरु फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ ।

राष्ट्रिय विभूति घोषणा
नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ ।

अनि झापा जिल्लाको शान्तिनगरमा  पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

नेपालमा मात्र होइन, बेलायत, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् । फाल्गुननन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्द
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुननन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ ।

नेपालमा पहिलो पटक लिम्बु सम्मेलन
गुरु फाल्गुननन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो ।

‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।

गुरु फाल्गुननन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ ।
तर, १९४२ सालमा जन्मिँदा फाल्गुननन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिनुभएका फाल्गुननन्दको न्वारनमा नर ध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर फाल्गुननन्द रहेको हो ।

आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुननन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूल देवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछा मासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।

सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने भएकाले फाल्गुनन्दको साथीहरूले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुननन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएका थिए ।

हत्याहिंसाका विरोधी, सत्य वचन र धर्म कर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुननन्दको आज परेको जन्म जयन्तीमा उहाँप्रति श्रद्धा सुमन !

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update