Public Pana
पोखराको फिर्केखोला अतिक्रमण हटाउने योजना अदालतद्धारा स्थगित - पत्रसहित 
फाइल तस्बिर

पोखराको मुख्य शहरी क्षेत्रको मध्यभाग भएर बग्ने फिर्केखोलामाथिको अतिक्रमण हटाउने पोखरा महानगरको योजना तत्काल स्थगित गर्नुपर्ने भएको छ।
 
आज शुक्रबार उच्च अदालत पोखराले सो क्षेत्रमा निर्मित संरचना यथास्थितिमै राख्न आदेश गरेपछि महानगर रोकिने अवस्था आएको हो। राजन रौनियारले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर दिएको रिट उपर शुक्रबार उच्च अदालत पोखरा इजलास नं. २ मा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको छ ।

आदेशमा भनिएको छ, ‘विपक्षीबाट मिति २०८०-७-१० मा प्रकाशित सूचना अनुसारको कार्य रोकिदा विपक्षीहरूलाई तत्काल क्षति हुन जाने अवस्था नरहनुको अतिरिक्त उक्त मितिको सुचना रोक्ने आदेशबाट पुग्न जाने क्षति भएमा सो उपरमा कानूनी उपचार प्राप्त गर्ने मार्गसमेत रहने हुँदा सुविधाको सन्तुलनका आधारमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्म विपक्षी पोखरा महानगरपालिकाबाट मिति २०८०-७-१० मा प्रकाशित सूचना अनुसारको कुनै कार्य नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’


निवेदकको तर्फबाट तर्फबाट अधिवक्ता तिलक पराजुली, मुकुन्दराज अर्याल तथा केशव प्रसाद पराजुलीले बहस गरेका थिए। रिट निवेदकहरूले दावीका कि.नं. का जग्गाहरूमा विपक्षी महानगरपालिकाबाट नक्सा पास गरी घर बसोबास भोगचलन गरी आएको भन्ने नक्सा पास तथा जग्गा धनिप्रमाण पूर्जाहरूबाट देखिएको समेत उल्लेख गरिएको छ । 

पोखरा महानगरपालिकाले कात्तिक १० गते सूचना जारी गर्दै पोखरा महानगरपालिका वडा नं. १८ को अँधेरीकुना देखि वडा नं. २, ४, ५, ८, ७, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फिर्के खोलाको खोलाभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू ३५ दिन भित्र पूर्णरुपमा हटाउन सूचना जारी गरेको थियो।  


पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्वेक्षण गरेको थियो। सर्वेक्षण टोलीले साउन ३ गतेबाट फिर्केको मुहानदेखि अन्तिम बिन्दुसम्म खोलाको सर्भेक्षण गरेको थियो। 

सर्वेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्चाएको प्रतिवेदन प्रस्तुत गरेको थियो। सर्वेक्षणपश्चात सार्वजानिक गरिएको प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी १६० वटा संरचना निर्माण गरिएको छ।

तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन्। व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेट्टाएको छ। संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन्।

letter adalt1699626606.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update