Public Pana
देशको अर्थतन्त्रमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप

सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

आज शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।

सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतिलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए ।

उनीहरुले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेकोमा दुख्ख पोखे ।

सांसदहरुले सरकारले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन्। त्यस्तै सांसदहरुले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एक रुपता नदेखिएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले सरकारले निर्माण व्यवसायीहरुलाई गर्नु पर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको औंल्याए ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभावी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्ने भन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए। उनले मन्त्रीहरूको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको दाबी गरे ।

बैठकमा बोल्दै कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए। उनले अर्थतन्त्रमा देखिका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता लिए अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भएपनि विगतका मन्त्रीको जस्तै अवस्था रहेको देखाए ।

सांसदहरुले अहिले जिल्ला–जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको भन्दै सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सझाव दिएका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update