Public Pana
नेपाल भ्रमणमा आएका चीन सीपीसीका नेता वाङ छुङछेङ पोखरा लागे 

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ पोखरा भ्रमणमा गएका छन् ।

काठमाडौंमा महत्वपूर्ण राजनीतिक भेटघाटपछि पोखरा गएका उनले आज शुक्रबार चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् भने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग औपचारिक भेटवार्ता पनि गरेका हुन् ।

मुख्यमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सोझो उडानमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै प्राविधिक टिमलाई अध्ययन गर्न पठाउने घोषणा गरे ।

गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने उनको भनाइ थियो । 
भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरूनियमित संचालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे।

कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दूत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए।


चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओलगायत सहरहरूबाट नियमित सीधा उडानका लागि अनुरोध गरेका थिए ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update