Public Pana
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ

मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटना बाहिर आएको २ हप्तापछि हिजो बिहिबार प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही हुन् । 

यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए ।

घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् ।

सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो।

सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो ।

अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए । जाजरकोटमा भूकम्प गएपछि उनी फर्किएका थिए। त्यहाँ जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो ।

पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update