Public Pana
प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना दिने कोशी मुख्यमन्त्रीको चेतावनी

प्रदेशलाई अधिकार नदिएको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको समय घर्किन नपाउँदै कोशी प्रदेशले पनि त्यस्तै अल्टिमेटम दिएको छ । 


कोशीका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका कामहरु संघीय सरकारले हडपेर राखिरहेको भन्दै तत्काल अधिकार हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

छिट्टै अधिकार हस्तान्तरण नभए आफू मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना दिन जाने पनि उनको जिकिर छ । 

हिजो विहीवार कोशी प्रदेशसभामा पहिलो पटक मुख्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद गोम्बु शेर्पाले ‘नेपालको संविधानले संघ र प्रदेश तथा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा रहेका अधिकारहरु कार्यान्वयन गर्न संघले तदारुकता नदेखाउँदा धेरै समस्या भइरहेको छ । यसलाई सहज बनाउन तपाईको योजना के छ ?’ भनेर सोधेका थिए ।
जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारले कब्जा गरेर राखेका अधिकार ल्याउन सर्वोच्च अदालतमा मुद्दा हाल्ने या धर्ना दिनुपर्ने बताए ।

‘हामीले हाम्रो अधिकार ल्याउन र जनतालाई डेलिभरी दिनका लागि संघीय सरकारले कब्जा गरेर राखेका अधिकार ल्याउन मुद्दा हाल्न पनि सक्छौं,’ उनले भने, ‘यदि अधिकार छिट्टै आएन भने, उहाँहरुले तदारुकता दिनुभएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसावले गएर धर्ना दिन्छु ।’

मुख्यमन्त्री कार्कीले अघिल्लो पटकको संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिने अधिकार दिने भन्दा सरकार बचाउने र ढाल्ने अभियानमा लागेको पनि आरोप लगाए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update