Public Pana
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने भएको छ ।  

उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो । 

देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चौबिसै घण्टा खुला राख्न आदेश दिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रहरूमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ । त्यही कार्ययोजना अनुसार कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न नरोक्न भनेको हो ।

साथै यस विषयमा अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । गृहप्रशासनले सुरक्षामा चुनौती हुन सक्ने भन्दै पोखरा लेकसाइडको व्यापार व्यवसाय राती ११ बजे सम्म मात्र खोल्न दिएपछि व्यवसायीहरु प्रशासनको निर्णयविरुद्ध अदालत गएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update