Public Pana
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल

जाजरकोटका भूकम्पपीडितलाई भेटेर रुकुमपश्चिम पुग्नुभएको राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक राज्य हुनुको अनुभूति जनतालाई गराउन सरकार सक्रिय भएर लागेको बताउनुभयो ।

उहाँले भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील रहेको बताउनुभयो । रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताउनुभयो ।

उहाँले पीडितको पुनःस्थापना, उनीहरूको सुविधा सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित भएकाले नआत्तिन अनुरोध गर्नुभयो । राज्यलाई नोक्सानीको सही सूचना दिएर राहत र पुनःनिमाणको कार्यमा सहयोग गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

भूकम्पपीडितसहित जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायत रहेको भेलामा राष्ट्रपतिले पीडितलाई राहत, अस्थायी आवास र उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभयो ।

राष्ट्रपति पौडेलसमक्ष प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा भएको मानवीय र भौतिक क्षतिको अवस्था र तत्कालको आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

उहाँले जिल्लामा ५२ जनाको मृत्यु भएको र १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षति भएका जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update