Public Pana
उपप्रधानमन्त्री सहितको उच्चस्तरीय टोलीद्वारा घाइतेको उपचारबारे जानकारी

 उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उपचार र उनीहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ । 

    नेपालगञ्जस्थित भेरी अस्पतालमा पुगेर उक्त टोलीले घाइतेको उपचारबारे जानकारी लिएको हो । टोलीमा उपप्रधानमन्त्रीसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी कृष्णदेव भट्ट, कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीलगायत हुनुहुन्थ्यो ।

    उपप्रधानमन्त्री खड्काले घाइतेसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै भूकम्प उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनाका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो । उहाँले भूकम्प गएपछि प्रधानमन्त्री आफैँले प्रभावित जिल्लामा पुगेर तत्काल उद्धार, उपचार र राहतको काम सुरु गर्नुभएकाले सरकारको सबै निकाय काममा लागेको बताउनुभयो । 

    उपप्रधानमन्त्री खड्काले अब राहत र पुनर्निर्माणमा केन्द्रित हुने जनाउँदै सरकारले घाइतेको सम्पूर्ण उपचार निःशुल्क गरेकाले उपचारमा कुनै समस्या नहुने प्रस्ट पार्नुभयो । भेरी अस्पतालका प्रमुख डा पवनजङ्ग रायमाझीले घाइतेको उपचारबारे टोलीलाई जानकारी गराउनुभएको थियो । 

    भूकम्पमा परी घाइते भएकामध्ये नेपालगञ्जमा अहिले ३८ जनाको उपचार भइरहेको छ । नेपालगञ्जमा उपचाररत रहनुभएका ३८ जनामध्ये २१ महिला र १८ पुरुष रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनीहरूमध्ये १२ जना बालबालिका, एकजना गर्भवती महिला र पाँचजना ज्येष्ठ नागरिक रहेका छन् ।

    उपचारका लागि नेपालगञ्ज ल्याइएका घाइते बिरामीमध्ये एक बाँकेका, २४ जाजरकोटको, १३ रुकुमपश्चिमको र एकजना सल्यानको रहेको भेरी अस्पतालले जनाएको छ । एकजनालाई अस्पताल पुगाउनुअघि नै मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update