Public Pana
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी

सरकारले पोल्यान्ड लगायत विभिन्न मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने प्रक्रिया अगाडि बढाए पछि पोल्यान्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) पोल्यान्डका अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्काद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा पोल्यान्ड लगायत  विभिन्न मुलुकहरूमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रक्रिया सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गरेको छ।

नेपालमा गठबन्धन सरकारको प्रमुख घटक नेपाली काँग्रेसको विदेश स्थित सङ्गठन नेपाली जनसम्पर्क समिति पोल्यान्डका सभापति नारायण चालिसेले पोल्यान्ड जस्तो धेरै नेपाली रहेको मुलुकमा नेपाली दूतावास आवश्यक छ ।

पोल्यान्डमा दूतावास खोल्ने प्रक्रियाको स्वागत गर्दे संस्थागत सहयोग गर्न जनसम्पर्क समिति तयार रहेको बताए ।

यसै गरी नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्च पोल्यान्डका अध्यक्ष रमेश लामा र सचिव निष्कर्ष लामाले प्रेस विज्ञप्तिमा जारी गर्दे  दूतावास स्थापना गर्ने सम्बन्धी मन्त्रिपरिषद्बाट चाँडो निर्णय गरी कार्यान्वयन गर्नका लागि माग गर्दे दूतावास स्थापनाले मजबुत कूटनीतिक संरचनामार्फत पोल्यान्ड र नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्ध घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयमिक हुने विश्वास गरिएको भनेका छन्।

नेपालमा वाम लोकतान्त्रिक गठबन्धन सरकारले गरेको यो निर्णयको हिस्सा हुन पाएकोमा आफ्नो सङ्गठन गौरवान्वित भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक पछि सरकारले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, मालदिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update