Public Pana
पुतली बाजेको मृत्यु
फाइल तस्बिर

नेपालमा पाइने ६ सय ४० प्रजातिका पुतलीबारे खोज अनुसन्धान गरेका बेलायती नागरिक कलिन स्मिथको निधन भएको छ। ‘पुतली बाजे’ को नामले परिचित स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए । 

लामो समयदेखि पिसाबको समस्याले ग्रस्त स्मिथ करिब २ महिनादेखि हरियोखर्कको प्यालिएटिभ केयरमा उपचाररत थिए ।

‘लामो समयदेखि नै उहाँ बिरामी हो। बिरामी भएपछि हरियोखर्क जाने निको भएपछि नयाँगाउँ चर्चको वृद्धाश्रममा फर्कने क्रम चलिरहन्थ्यो’, उलकले भने।

पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्।

‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाइघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।

स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका हुन्। पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएको थिए।

स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update