Public Pana
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने

सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ।

शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो कुरा बताएका हुन्। 

साथै, बैठकमा घाइतेको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास जारी राख्ने निर्णय पनि भएको छ। उनले उद्धार कार्यमा कुनै कमी हुन नदिने गरी काम गरिरहेको बताए।

उनले घाइते तथा त्यहाँको क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय भएको पनि बताए। उनले प्रभावित क्षेत्रमा वानडोर (एकद्वार) प्रणालीबाट राहत दिने र राहत सामग्री  प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरी हस्तान्तरण गरिने बताए।

‘जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा र सर्च एण्ड रेस्क्युका सम्बन्धमा छलफल गर्न बैठक बसेको थियो। सर्च एण्ड रेस्क्यु र घाइतको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास त्यतातिर केन्द्रित गर्ने त्यसमा कुनै कमी हुन नदिने,’ उनले भने, ‘बिहानदेखि भएको प्रयासको समीक्षसहित थप प्रभावकारी बनाउने कुरा भयो। घाइते तथा त्यहाँको क्षतिको विवरणहरू संकलन गर्ने र एकीकृत विवरणका लागि विवरणलाई एउटै प्रणालीबाट संकलन गर्ने अर्थात सूचना संकलन र व्यवस्थापन प्रभावकारी बनाउने।’

तत्काल उपलब्ध गराउनुपर्ने राहत सामग्रीहरूको विषयमा आवश्यक पूर्वतयारी गर्ने र त्यस्ता राहत सामग्री प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरेर हस्तान्तरण गर्ने पनि निर्णय भएको उनले बताए। 

‘वान डोर सिस्टमबाट राहत वितरण गर्ने। जिल्ला विपद् व्यवस्थापन समितिमा अहिले दुई वटा जिल्लामा २०-२० लाख रुपैयाँ छ। त्यसले थप कामका लागि नपुग्न सक्छ भनेर जिल्लाको विपद् व्यवस्थापन समितिमा ५-५ करोड निकासा दिनेगरी सहमति भएको छ। क्षतिको विवरण संकलन गर्र्ने टिम खटाइने,’ उनले भने।

सरकारका अनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन्।

ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update