Public Pana
अपडेट :  जाजरकोट र रुकुमपश्चिमा १२१ जनाको मृत्यु

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ। प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन्। 

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार  स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ। 


सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको उनले बताए। 


आफूले पाएको प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए। 

उनका अनुसार नगर क्षेत्रमा रहेका घरहरुमा अधिकांश भौतिक संरचनाहरुमा आंशिकदेखि पूर्ण क्षति पुगेको छ।


यस्तै, जाजरकोट कै नगलगाड नगरपालिकामा उप प्रमुख सरिता सिंहसहित ५० जना बढीले ज्यान गुमाएका छन्। 

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएका छन्। उनका अनुसार वडा नम्बर एकमा सबैभन्दा बढी मानविय क्षति भएको छ। ३० देखि ३५ जना घाइते भएका छन्।   

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्दारमा कठिनाई भएको तथा घटनाको एकिन विवरण संकलनमा समस्या भएको उनले बताए।

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

डिएसपी भट्टराईका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्।

jajarkot bhukampa1699062714.png

earthweek jajar1699062370.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update