प्रियंका हरेक दिन बुलन्दशहरको काकोडबाट करिब ५० किलोमिटर टाढा ग्रेटर नोएडाको सोसाइटीका घरहरूमा खाना बनाउने कामका लागि जान्छिन् । यसका लागि उनी हरेक दिन बिहान साढे ४ बजे उठेर आफ्नो घरको काम सबै सकाउँछिन् । त्यसमा श्रीमानले कुनै सहयोग गर्दैनन् । उनका श्रीमान् पनि बाहिर काम गर्छन् ।
प्रियंकाका श्रीमानले महिनामा १७–१८ दिन मात्र काम पाउँछन्, जसले गर्दा उनी पनि काममा धाउनुपरेको हो । यसरी हेर्दा उनको कमाइ र श्रीमानको कमाइ बराबरी हुन जान्छ । कमाइको मामिलामा प्रियंका बराबर भए पनि घरको सबै काम भने उनले मात्र गर्नुपर्छ । उनी बाहिर र घर दुवैतिरको काम गर्छिन् ।
प्रियंकाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘म बिहान उठेर घरको काम गर्छु, खाना पकाउँछु, बच्चाहरूलाई तयार पारेर स्कुल पठाउँछु, त्यसपछि म आफ्नो काममा निस्कन्छु । हरेक दिन काममा जान्छु । काममा जान डेढ घण्टा भन्दा बढी लाग्छ ।’ उनी अगाडि भन्छिन्, ‘म थकित भएर घर पुग्छु । तर पनि छोराछोरीका लागि खाना पकाउनेदेखि अन्य सबै काम आफैं गर्नुपर्छ । श्रीमानबाट कुनै सहयोग पाउँदिनँ ।’
यस्तै अवस्था दिल्लीकी शीला रानीको पनि छ । उनी एक निजी कम्पनीमा काम गर्छिन् । कोरोना महामारीको समयमा उनको श्रीमानले जागिर गुमेको थियो । धेरै ठाउँमा कामको खोजी गरे पनि काम पाउन सकेका छैनन् उनका श्रीमानले । काम नपाएकाले उनका श्रीमान् दिनभर घरमै बस्छन् । त्यसैले शीलाको बोझ दोब्बर भएको छ । उनी भन्छिन्, ‘म जागिरसँगै घरको काम पनि गर्छु । श्रीमानले घरायसी काममा सहयोग गर्दैनन् ।’
घरेलु कामको असमान विभाजन
भारतमा जब हामी घरेलु कामको बारेमा श्रीमान श्रीमतीको स्थिति देख्छौं, प्रायः यही परिस्थिति देखिन्छ । जहाँ पुरुषको तुलनामा महिलाहरुले नै अधिक घरको काम गर्छन् । दैनिक जीवनमा केही काम छन् जुन कामको रूपमा गणना नै गरिंदैन तर दिनहुँ गर्नुपर्छ ।
भारतमा सन् २०१९ द टाइम युज सर्भेअनुसार पुरुषको तुलनामा महिलाहरुले तीन गुणा बढी घरको काम गर्ने पुष्टि गरेको छ । यति मात्र होइन, उनीहरु आफ्नो परिवारका सदस्यहरुसँग पनि भावनात्मक रुपमा उत्तिकै जोडिएका हुन्छन् । उनीहरू पुरुषको तुलनामा आफ्नो परिवारका सदस्यहरूको हेरचाह गर्न दुई गुणा बढी समय दिने गर्छन् ।
यसको अर्थ जब घरको कामको जिम्मेवारीको कुरा आउँछ, महिलाहरूले पुरुषको तुलनामा यसको बारेमा बढी सोच्ने मात्र होइन, भावनात्मक रूपमा पनि कडा मेहनत गर्ने गर्छन् ।
बीबीसीको वर्कलाइफमा प्रकाशित लेखअनुसार सन् २०१९ मा हार्वर्ड विश्वविद्यालयबाट समाजशास्त्र र सामाजिक नीतिमा पीएचडी गरिरहेकी एलिसन डेमिङ्गरले ३५ जोडीमाथि अनुसन्धान गरेकी थिइन् । त्यसमा सहभागी अधिकांश दम्पत्तीले घरायसी कामको ठूलो हिस्सा महिलाको जिम्मेवारी हो भन्ने बुझेका थिए ।
कहिले पनि नसकिने लुकेको काम
घरमा यस्ता काम धेरै हुन्छन्, जसलाई सजिलै मापन गर्न सकिंदैन । यसलाई अन्य कामसँगै गर्नुपर्ने हुन्छ । उदाहरणका लागि छोराछोरीको हेरचाह गर्ने काम प्रायः महिलाको भागमा पर्छ । यहाँसम्म कि आफ्नो बच्चासँग नभए पनि अफिसमा वा काम गरिरहँदा पनि आमालाई बच्चाको चिन्ता भइरहन्छ । यसले गर्दा मानसिक तनाव बढ्छ, किनकि कार्यालयको काम गरिरहे पनि दिमागमा घरमा छोडेर आएको बच्चाको चिन्ता भइरहेको हुन्छ ।
बीबीसीको वर्कलाइफमा छापिएको एक लेखअनुसार सन् २०१९ मा हार्वर्ड विश्वविद्यालयबाट समाजशास्त्र र सामाजिक नीतिमा पीएचडी गरिरहेकी एलिसन डेमिङ्गरले ३५ जोडी अर्थात् श्रीमान–श्रीमतीको अनुसन्धान गरेका थिए । जसमा सहभागी अधिकतम जोडीले महसुस गरे कि घरको कामको जिम्मेवारी बढी महिलालाई हुने रहेछ ।
एलिसन डेमिङ्गरले बीबीसीसँग भनिन्, ‘यदि हामीले दैनिक कार्य पूरा गर्न दिनहुँ कति योजना बनाउनुपर्छ भनेर बतायौं भने हामी कति लुकेका काम गर्छौं भन्ने कुरा स्पष्ट हुनेछ ।’
घरेलु कामसँग सम्बन्धित मानसिक कार्य
एलिसन डेमिङ्गरले घरेलु जिम्मेवारीसँग सम्बन्धित मानसिक कार्यका चार भिन्न चरणहरू पहिचान गरेका छन् । जसमा आवश्यकताहरू अनुमान गर्ने, विकल्पको पहिचान गर्ने, विकल्पहरूमध्येबाट उत्तम छनोट गर्ने र परिणामहरूको नियमित मूल्याङ्कन गर्ने छन् । डेमिङ्गरको अनुसन्धानले यी चारै चरणमा सबैभन्दा बढी जिम्मेवारी आमाको रहेको देखाएको छ ।
लिंगको आधारमा कामको विभाजन नहुने भएकाले समलिंगी जोडीमा घरायसी काम बाँडफाँटमा असमानता कम हुन्छ । त्यस्तै यूटा युनिभर्सिटीका समाजशास्त्री डेनियल कार्लसनले आफ्नो एउटा अनुसन्धानमा कामको असमान विभाजनले वैवाहिक जीवनमा भर्खरै बाँधिएका जोडीको यौनजीवनमा समेत असर पारेको तथ्य निकालेका थिए ।
कसरी घरेलु कामको बोझ घटाउने ?
जब विश्व कोरोना महामारीको चपेटामा परेको थियो, लकडाउनका कारण सबैजना घरमै रहेका बेला घरायसी काममा महिलाको सहभागिता र लैङ्गिक समानताका विषयमा धेरै चर्चा हुन थाल्यो । त्यो समयमा पुरुषले पनि घरका लुकेका कामलाई नजिकबाट नियाल्ने र श्रीमान् श्रीमतीको घरेलु बोझ कम गर्न सहयोग गर्ने मौका पाएका थिए ।
त्यसो भए के गर्ने त ? घरको काममा पुरुषले समान रुपमा नियमित सहयोग गर्ने ?
डेमिङ्गर भन्छन्, ‘यो त स्पष्ट छ कि धेरैजसो पुरुष आफ्ना छोराछोरीको हेरविचारको काममा सकेसम्म संलग्न हुन चाहन्छन् । त्यसैले त्यसमा जोडिएको घरको कामको पनि श्रीमान श्रीमतीले आपसमा छलफल गरेर कसले के गर्न सकिन्छ । साथै कुन कुन काम कसले गर्ने भनेर स्पष्ट हुनुपर्ने देखिन्छ । त्यस्तै छोराछोरीको हेरचाह र घरेलु काम गर्न कति योजना बनाउनुपर्छ भनेर प्रस्ट पायौं भने घरमा कति लुकेका काम छन् भन्ने कुरा स्पष्ट हुन्छ ।’
यदि हामीले कामको बोझ बाँड्ने र नयाँ बानीहरू बसाल्ने अभ्यास गर्ने हो भने, हामीले पहिले लुकेको कामलाई दृश्यात्मक बनाउनु पर्ने डेमिङ्गरको सुझाव छ । डेमिङ्गरको अनुसन्धानले घरेलु कामको बोझ आपसमा खुलेर कुरा गरेर बाँड्न सकिने भनेर देखाएको थियो ।
त्यस्तै सामाजशास्त्री कार्लसन भन्छिन्, ‘घरेलु कामको सन्दर्भमा महिलाहरूको मानसिक दबाब कम गर्ने उत्तम उपाय भनेको कम काम गर्नु हुन सक्छ । तर लक्ष्य हासिल गर्न भने सजिलो हुनेछैन ।’
उनका अनुसार महिलाले घरमा कम काम गरेपछि पुरुष पार्टनरको सहभागिता बढ्दै जाँन्छ । यसले मानसिक ऊर्जाको अधिकतम सदुपयोग गर्न सक्ने उनी बताउँछन् ।
बीबीसीबाट साभार