Public Pana
टी–ट्वान्टी विश्वकप छनोट :  निर्णायक खेलमा यूएईको सामना गर्दै नेपाल

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । 


हिजो बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ ।

नेपाल २०२२ मा छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल घरेलु मैदानमा त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुन चाहन्छ । 

आजको अर्को सेमिफाइनल खेलमा टीयू क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

हेड टु हेड 
नेपाल र यूएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन् । आठमध्ये नेपाल र यूएईले चार चार खेल जितेका छन् । 

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो । समूह चरणमा नेपालले यूएईविरूद्धका दुवै खेल जितेको थियो । फाइनलमा नेपालमाथि यूएईले ४ विकेटको जीत निकालेको थियो। 

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको खेलमा जीत हात पारे विश्वकपमा पुग्ने अवस्था थियो । तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो । 

यूएईको टोली

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update