Public Pana
बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढयाे

महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानावारे पुरातत्वविदहरुले चासो देखाएका छन् ।

पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् ।

कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ । लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोबिन्द न्यौपानेले स्थानिय सरकारको पहलकदमलाई नै जोड दिएका छन ।

कार्विन्सले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी थिईन । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनकाे निष्कर्षमा थियो  ।

पछिल्लो समय स्थानिय पत्रकारहरुले यसकाे बिषयमा थप खोजी गर्न थालेपछी चर्चा चुलिदै गएको छ । पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ । तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ ।

स्थानियहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानियह बताउँछन् । समाचारको माध्यमवाट प्रचार प्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानियहरुले  उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन् । केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानिय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन् ।

अविलम्ब यो ठाउँलाई सुरक्षित गरि पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानियहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन् । ठाउँको पहिचान गरि उक्त क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update