Public Pana
जाडो मौसममा पनि डेंगु सङ्क्रमण बढ्दो 

जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या बढ्दो छ ।

काठमाडौं उपत्यकाको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४२ हजार ४११ पुगेको छ ।

गत पुस महिना यता डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व अधिकृत नवराज गौतमका अनुसार पछिल्ला वर्ष जलवायु परिर्वतनसँगै डेंगु सार्ने लामखुट्टेले पनि वातावरण अनुकुल आफूलाई परिवर्तन गर्दै गएकाले हिमाल, पहाड अनि चिसो मौसममा पनि सक्रिय भएको छ ।


डेंगु सार्ने लामखुट्टे १० देखि २५ डिग्री सेल्सियससम्म बाँच्न सक्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम बढेसँगै लामखुट्टेका लागि प्रजनन् गर्ने वातावरण बन्दै गएको छ ।


एडिस जातको लामखुट्टेले आफू बाँच्नका लागि हरप्रकारका तरिका अपनाउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताएका छन् ।


लामखुट्टेले हवाई, स्थलमार्ग हुँदै एक देशबाट अर्का देशमा पुगेर मलेरिया लगायतका रोग सारेको प्रमाणित भएको छ । यस्तै नेपालमा पनि हवाई र स्थल यातयात हुँदै तराईबाट हिमाल, पहाडमा पुगेर डेंगु सङ्क्रमण गराउन सक्ने सम्भावना भएकाले सचेत हुनुपर्ने देखिएको छ । 


त्यसैले पनि जाडो समयमा डेंगु कम हुन सकेको छैन । अझै दुई महिना नेपालमा डेंगु कम हुने सम्भावना छैन । तसर्थ सतर्क रहनुको विकल्प देखिदैन ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update