Public Pana
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ

कैद छुट पाएर जेल मुक्त भएका व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन्। गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन्।

उनलाई असल चालचलन भएको भन्दै कैद छुट गरिएको थियो।

चितवन प्रहरीले मकवानपुरको हेटौंडा स्थायी घर भई भरतपुर महानगरपालिका ९ बस्ने थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका १ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए।

थापा डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर गत जेठमा छुटेका थिए।


उनी विरुद्ध २०६६ जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

यस्तै, २०६६ असार ३ गते अवैध हतियार देखाई डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थयो भने २०७३ वैशाख २२ गते प्रहरी बृत सातदोबाटो ललितपुरबाट लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

यस्तै चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा मिति गत गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुर, चितवनबाट बाँकी कैद आम पाएर छुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update