Public Pana
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् ।


आज मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय नेपालमा चिनीको अभावको कारण विभिन्न समस्या आएको भन्दै सरकारले समस्या समाधानको लागि सक्दो प्रयास गरिरहेको बताए। उनले दसैँका लागि चिनी उद्योग र विभिन्न उद्योगहरुमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिबन्ध नखोलेसम्म समस्या समाधान गर्न गम्भिर हुनुपर्ने अवस्था रहेको बताए ।

उनले चिनीमा समस्या आउनुको प्रमुख कारणहरुमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने, भारतले प्रतिबन्ध लगाउनु, आन्तरिक उत्पादनले धान्ने अवस्था नभएको, मुलुक भित्रका चिनी उद्योगहरुलाई पूर्ण रुपमा चलाउनको लागि पर्याप्त कच्चा पदार्थको कमी रहेको बताए। उनले चिनी आयातको विद्यमान भन्सार महशुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत हुँदा घरेलु मूल्य भन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको बताए ।


उनले नेपालमा चिनीको वार्षिक उत्पादन १ लाख ४० हजार देखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ भने नेपालमा चिनीको वार्षिक माग २ लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म रहेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update