Public Pana
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह 

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताएका छन् ।


मंगलबार लुम्बिनी पुगेका गुटेरेसले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान समेत गरेका छन् । 


मंगलबार बिहान पोखराबाट विशेष विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’ 


बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गर्दै उनले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गरे ।


उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरे । 


‘शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न’, उनले भने, ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।’ 


त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए। यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे ।


शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए । उनले वृक्षरोपणसमेत गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update