Public Pana
श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या

स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।


चापाकोट नगरपालिका–७, खासा बस्ने करिब ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर  हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।


श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।


हिजो सोमबार साँझ खाना खाएर सुतेकी छोरी बिहान उठ्दा आमाबुवा उठेको नदेखेर कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।


यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको प्रहरी निरीक्षक यादवले बताए ।
हिजो राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनी बताउँछन् ।


कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update