Public Pana
अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि

बाल एकता स्कूलका गुड्डु भनिने प्रिन्सिपल (प्राध्यापक) रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारणले भएको पाइएको छ ।


भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।


‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । हामीले त्यसलाई पुष्टि गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी) ददिराम न्यौपानेले सञ्चारलाई माध्यमलाई जानकारी दिए । 


आफ्नै नाता पर्ने अर्थात् मनोज र विद्यालयका प्रिन्सिपलसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारण हत्या निम्त्याएको प्रहरीको बुझाइ छ । 


विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला बेलामा विद्यालयमा आइरहन्थे । एकपटक मनोजले विद्यालयमै आएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको ती शिक्षकको बयान छ ।


मनोजलाई स्वर्णकारले विद्यालयमा नआउन भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुने भएपछि विद्यालयबाट हटाएको ती शिक्षकले बताए । 


हिजो सोमवार २ वटा मोटरसाइकलमा आएको समूहले स्वर्णकारको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेष्टुरेन्टबाट खाजा लिएर फर्कँर्दैँ गर्दा गोली प्रहार भएको थियो । 


स्थानीयका अनुसार पहिलो मोटरसाइकलले गोली प्रहार गर्दा स्वर्णकार जोगिएका थिए । दोस्रो मोटरसाइकलमा रहेका २ जनाले गोली प्रहार गरेका थिए । 


पाखुरामा गोली लागेर लडेका स्वर्णकारलाई मोटरसाइकलबाट झरेर छातीमा गोली प्रहार गरिएको थियो । घाइते उनको अस्पताल लगेपछि मृत्यु भएको हो ।


मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईका अनुसार अहिले ६ जनालाई पक्राउ गरिएको छ ।

बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update