Public Pana
भन्सारको राजस्व चुहावटमा कर्मचारी संलग्न देखिए कारबाही गर्ने सरकारको चेतावनी

भन्सारतर्फ राजस्व चुहावटमा अब कडाइ गरिने भएको छ । भन्सार विभागमा नयाँ नेतृत्व आएसँगै राजस्व चुहावटमा शून्य सहनशीलता अवलम्बन गर्ने नीति अघि सारिएको हो ।


अनलाइनका माध्यमबाट हुने  प्रत्यक्ष अनुगमनलाई प्रभावकारी बनाई बिदाका दिनमा र कार्यालय समय अगाडि–पछाडिसमेत सबै भन्सार कार्यालय अनुगमनको थालनीसमेत गरिसकको भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेल बताउँछन् । 


उनका अनुसार अनुगमनका क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिए तत्काल भन्सार ऐनअनुसार कारबाही गर्न लगाउने गरिएको छ। यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुनसक्ने देखिएमा त्यस्ता कन्साइमेन्ट रोकी विभागबाटै छड्के परीक्षणका लागि टोली पठाउन थालिएको छ। अब जुनसुकै बेला छड्के अनुगमन हुनक्छ । 


त्यस्तै भन्सार नियन्त्रण प्रभावकारी बनाउन सूचना प्रविधिको पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग,  नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउनेजस्ता नीति अवलम्बन गरिएको भन्सार विभागले जनाएको छ । 


विभागले प्रत्यक्ष अनुगमनबाट चालु आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख,भदौमा १४ करोड र असोजमा २० करोड थप राजस्व असुल गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० लाख, भदौमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update