Public Pana
अपडेट :  विशेष विमानबाट पोखरा पुगे राष्ट्रसंघका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् ।


गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो। 


उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे।


विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो ।
गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।


महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए ।

फिस्टेल लजले महासचिव गुटेरेसको लागि बेलायती राजा चार्ल्स, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलगायतले रात बिताएको कोठा उपलब्ध गराएको छ।

ओच्छ्यानबाटै फेवाताल र हिमालको दृष्यावलोकन गर्न सकिने सो कोठामा सन् १९८१ को डिसेम्बरमा बेलायतका तत्कालीन युवराज र हालका राजा चार्ल्सले रात बिताएका थिए।

त्यसपछि पनि सो कोठामा विभिन्न देशका विशिष्ठ अतिथिहरु बस्दै आएका फिस्टेलका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले जानकारी दिए। विशिष्ठ पाहुनाको स्वागतको लागि होटल व्यवस्थापन तम्तयार रहेको उनले बताए। खानेकुरा भने भ्रमण दलको माग अनुसार तयार पारिने उनले सुनाए।

फिस्टेलको रात्रीकालीन बसाइपछि महासचिव गुटरेस मंगलबार बिहानै अन्नपूर्ण आधार शिविर जानेछन्। उनको भ्रमणको सम्पूर्ण प्रबन्ध नेपाली सेनाले मिलाएको छ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update